Thursday, December 8, 2016

यसकारण धेरै पानी पिउनु पनि घातक


काठमाडौं, मंसिर २४- पानी कति पिउने गर्नुहुन्छ ? स्वास्थ्यका लागि प्रशस्त पानी पिउनु लाभदायक छ । यो सही हो । तर, प्रशस्त पिउने भनेको कति ? यो सवालमा धेरै मान्छेमा अन्योल छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनु नै प्रशस्त भनेर बुझ्नुपर्छ । यसको मापन व्यक्तिको उमेर, कसरत, परिस्थितिमा भर पर्छ ।


शरीरबाट पसिना धेरै बाहिरिएको छ भने पानीको आवश्यकता बढी हुन्छ । एक वाक्यमा के बुझ्नुपर्छ भने पेटमै असहज हुने गरी, हिलिक्क हुने गरी पानी पिउँदा बेफाइदा गर्छ । शरीरको मागभन्दा कम पानी पिउँदा असर भएजस्तै मागभन्दा बढी पानी पिउँदा पनि स्वास्थ्यमा हानि गर्नेबारे चिकित्सकहरूले सचेत गराएका छन् :

लन्डनको किंग्स कलेज हस्पिटलमा एक बिरामी महिला भर्ना भइन् । डाक्टरहरूले जाँच गरेपछि पत्ता लाग्यो कि महिलाको रगतमा नुनको स्तर निकै कम भएको थियो । ब्रिटिस मेडिकल जर्नलमा छापिएको रिपोर्टअनुसार महिलाको जस्तो स्थिति त्यो समयमा निम्तिन्छ कि, जब व्यक्तिले थोरै समयमै अत्यधिक धेरै पानी पिउने गर्छ ।

खासमा सुरुवातमा ती महिलाको मूत्र प्रणालीमा इन्फेक्सन भएको थियो । यही समस्या समाधानका लागि भन्दै उनले हरेक आधा घन्टामा एक गिलास पानी पिउन थालिन् । यसरी अत्यधिक पानी पिउन थालेपछि नै उनको स्वास्थ्यमा गडबडी भयो ।नयाँ पत्रिकाले छापेको छ ।
डाक्टरहरूका अनुसार रगतमा नुनको स्तर तब अचानक कम हुन्छ, जब व्यक्तिले थोरै समयमै धेरै पानी पिउने गर्छ । यसले बमिट हुने तथा टाउको दुख्नेजस्ता समस्या निम्त्याउँछ । जर्नलमा छापिएको रिपोर्टअनुसार महिलामा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या हो ।

हस्पिटलमा बिरामी महिलाको उपचारसँगै डाक्टरहरूले थप अध्ययन सुरु गरेका छन् । उनीहरूले बताएका छन्, रगतमा नुनको अवस्था असामान्य रूपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको मृत्यु हुने गर्छ । उनीहरूले पानीले फाइदा गर्छ भन्दैमा शारीरिक असहजता निम्तिने गरी एकैपटक धेरै नपिउन सुझाब दिएका छन् । पब्लिक हेल्थ इंग्ल्यान्डले भने वयस्क व्यक्तिले दिनमा ६–८ गिलास पानी पिउनु पर्याप्त हुने बताएको छ ।

0 comments:

Post a Comment