Monday, October 17, 2016
- Home
- Unlabelled
- विमानस्थलमा प्रधानमन्त्रीले के-के भने ?
विमानस्थलमा प्रधानमन्त्रीले के-के भने ?
Posted By Unknown
On 7:59 PM
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा आफूले नेपाल र नेपाली जनताको शिर ठाडो पार्ने काम गरेको दाबी गरेका छन् । तीनदिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले चीन र भारतका सरकार प्रमसुखहरूसँग त्रिदेशीय साझेदारी, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र नेपालको विकासका विषयमा केन्द्रित रहेर त्रिपक्षीय कुराकानी गरेर नेपाल र नेपाली जनताको शिर ठाडो पारेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गोवामा रहँदा भारतका समकक्षी, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवं भुटानका समकक्षीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी गरेका थिए । आइतबार भारतको गोवामा सम्पन्न भएको ‘ब्रिक्स, बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी भएर प्रधानमन्त्री सोमबार स्वदेश फर्केका हुन्।
विमानस्थलमा प्रधानमन्त्रीले के के भने ?
अचानक म बसेको कोठामा चिनियाँ राष्ट्रपति आउनुभयो चिनियाँ राष्ट्रपति (सी जिन पिङ)सँग औपचारिक वार्ता सकिएपछि हामी होटेलमा फर्किने क्रममा थियौँ । ब्रिक्स सम्मेलनमा सहभागी राष्ट्रपति र सरकार प्रमुखहरू पनि त्यही बाटो भएर आउनुपर्ने भएकाले केही समय हामीले चिनियाँ राष्ट्रपतिसँग वार्ता भएकै ठाउँमा प्रतीक्षा गर्ने हलमा बस्नुपर्ने भयो । हामी त्यहीँ बसिरहेका थियौँ । पराराष्ट्रमन्त्रीलगायत अरू अर्काे कोठामा र म प्रधानमन्त्रीको हैसियतले त्यहाँको विशेष कार्यकक्षमा बसिरहेको थिएँ । अचानक चीनका राष्ट्रपति मै भएको ठाउँमा आउनुभयो ।
सी जिन पिङसँग ‘हट टु हट’ कुरा भयो
मेरो ‘वान टु वान’ कुराकानी गर्ने इच्छा थियो, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग पनि । तर, त्यहाँ ‘ढुंगा खोज्दा देउता मिले’जस्तो भयो । म बसिरहेको ठाउँमा चीनका राष्ट्रपति आएपछि सीधै ‘हट टु हट’ कुराकानी भयो । उहाँ नेपाल आउनुपर्छ भन्नेबारे, हिजो भएका सहमति–सम्झौता कार्यान्वयन गर्नेबारे, नेपालको विकासका आवश्यकताबारे, शान्ति प्रक्रिया र संविधान संशोधनजस्ता विषयमा २० मिनेट जति उहाँसँग सीधा–सीधा कुराकानी गर्ने अवसर प्राप्त भयो ।
चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग मैले नै कुरा सुरु गरेँ
कुराकानीकै क्रममा भारतीय प्रधानमन्त्री (नरेन्द्र मोदी) पनि त्यहाँ आइपुग्नुभयो । ब्रिक्सका सबै राष्ट्रप्रमुख, सरकार प्रमुखहरू त्यहाँ जुट्ने कार्यक्रम थियो । तर, बाटोसम्म आउन कसैको प्लेन ढिलो भएको, कसैको प्राविधिक अप्ठ्यारो भएको कारण त्यहाँ भेटघाटको अवसर जुरेको थियो । भारतका प्रधानमन्त्री मोदीजी आइसकेपछि अब तीनजना भइयो । त्यो पनि नेपालका लागि ठूलो अवसर भयो । नेपाल र नेपाली जनताको निम्ति एउटा यस्तो सुखद् संयोग हुन पुग्यो, त्यो । भारतका प्रधानमन्त्री मोदीजी दक्षिणतिरको साइडमा, चीनका राष्ट्रपति सी जिन पिङ उत्तरतिरको साइडमा र म बीचमा भएँ । दुई विशाल छिमेकीको बीचमा मैले कुराकानी सुरु गरेको थिए ।
मोदी र सी दुवैले नेपाल सानो छैन भन्नुभयो
राम्रो खुसियालीको माहोल थियो त्यहाँ । दुवैजना (राष्ट्रपति र प्रधानमन्त्री) हाँस्नुभयो । मैले भनेँ, ‘मैले सुरुदेखि त्रिदेशीय साझेदारीका विषय राख्दै आएको छु । आज यस्तो राम्रो अवसर मिल्यो, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीस“गै आफ्नो कुरा राख्ने अवसर पाएँ । नेपाल सानो छ । आर्थिक दृष्टिकोणले पछाडि परेको पनि छ । तर, पनि भारत, चीन र नेपालको बीचमा त्रिदेशीय साझेदारी भयो भने तपाईंहरूले गर्दै आएको आर्थिक विकासबाट हामी फाइदा उठाउन सक्छौँ ।’ त्यसपछि दुवैजना नेताले निकै सकारात्मक माहोलमा ‘तपाईंहरूले सानो देश भनेर सोच्नु पर्दैन । तपाईंहरूले धेरै ठूलो काम गर्नुभएको छ । सानो र ठूलो भन्ने कुरा होइन । तपाईंले जे विषय प्रस्तुत गर्नुभएको छ, यो महत्वपूर्ण भयो,’ भन्नुभयो ।
त्रिदेशीय समझदारी भएको छैन
बैठकमा त्रिदेशीय समझदारी भयो भन्ने होइन । त्यहाँ सहमति गर्न बसेको पनि होइन, समझदारीबारे सकारात्मक धारणा व्यक्त भयो । त्यहीवेला भारतीय प्रधानमन्त्री मोदीजीले चिनियाँ फिलोसपर ‘हाङ सी’ले भ्रमण गर्दै जाँदा गुजरात पुगेको र त्यहाँ आफ्नो अनुभव बताएको जानकारी दिनुभयो । त्यहाँ जाने दार्शनिक चाहिँ चिनियाँ राष्ट्रपति सी जिन पिङको गाउँका परेछन् । बडो विचित्रको संयोग रहेछ, जुन मोदीजीले सुनाउनुभयो । राष्ट्रपति सी जिन पिङले पनि हाम्रो गाउँमा भारतको गुजरातमा गएर त्यतिवेला फिलोसपरले गरेको कुराको लिखित रेकर्ड दस्तावेज नै छ भन्नुभयो । त्यहाँ भारत, नेपाल र चीनको सम्बन्ध ऐतिहासिक छ भन्ने प्रसंग आउँदै गयो । त्यसपछि मैले भनेँ, ‘बुद्धले चीन, भारत र नेपाललाई राम्रोसँग जोडेका छन्, त्यसैगरी जानकी, पशुपतिजस्ता धार्मिक क्षेत्रले पनि हामीलाई जोडेको छ भने आधुनिक युगमा विज्ञान प्रविधिले जोडेको छ ।’
राजनीतिक प्रक्रियामा दुवै देशको पूर्ण समर्थन
नेपालमा अहिले भइरहेको राजनीतिक प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया, शान्ति प्रक्रिया सबैमा हाम्रो पूर्ण समर्थन हुन्छ भन्ने दुवै देशका नेताहरूले मलाई सुनाउनुभयो । असाध्यै राम्रो वातावरणमा कुराकानी भएकाले यो नेपाल र नेपालीका लागि बडो खुसीको कुरा हो । कहिलेकाहीँ संयोगले साह्रै ठूला उपलब्धि पनि हुन्छन्, कहिलेकाहीँ संयोगले दुर्घटना पनि हुन्छ । यो यस्तो संयोग भयो, जो दुर्लभ नै पाउने कुरा हो । यसलाई नेपाल र नेपाली जनताको पक्षमा अधिकतम सदुपयोग गरेकोमा मेरो छाती गर्वले फुलेको छ ।
यहाँ चिनियाँ राष्ट्रपतिसँगको भेटलाई गलत अर्थ लगाइयो
तर, यहाँ मिडियामा बडो विचित्रको टिप्पणीहरू आएका रहेछन् । यसले नमीठो लागेको छ । कतिपय पत्रिकाले म चिनियाँ राष्ट्रपतिसँग भेट्न पाँच मिनेट ढिलो गएँ भनेर समाचार बनाएको देख्दा मेरो मन नराम्रोसँग दुखेको छ । परराष्ट्रमन्त्री यहीँ हुनुहुन्छ । हामी एक घन्टाअगाडि कुरेर बसेका छौँ, चिनियाँ राष्ट्रपतिलाई । अफ्रिकाका राष्ट्रपति आउनै ढिला भयो । हामी सी जिन पिङसँग ६ बजेर १० मिनेटमा कुराकानी गर्ने भनेर गएका थियौँ, तर सात बजेर १० मिनेटसम्म त्यहाँ भेटघाटको वातावरण मिलेन । किनभने, सी जिन पिङ र मोदीजीको कुराकानी नै ढिला गरी सुरु भएको थियो । तर, यहाँ पत्रिकाले प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई पाँच मिनेट कुराए भनेर लेखिदिए । यसरी नै नकारात्मक कुरा भन्नमै हामीलाई आनन्द आउने हो भने देश विकास कहिले गर्ने ?
संविधान कार्यान्वयमा दुवै देशको पूर्ण सहयोग
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान कार्यान्वयनमा भारत र चीन दुवै छिमेकी मुलुकले पूर्ण सहयोग र साथ दिने पनि बताए । संविधान कार्यान्वयनलाई स्वागत गरिसकेपछि संविधानलाई पनि स्वागत गरेको ठहर्ने उनको भनाइ थियो ।
‘दुईपक्षीय वार्ताका क्रममा हामी संविधान कार्यान्वयनको प्रक्रियामा छौँ भन्दा भारतीय प्रधानमन्त्रीले हाम्रो पूर्ण सहयोग र समर्थन छ भन्ने कुरा गर्नुभएको थियो,’ प्रचण्डले थपे, ‘विमस्टेक र ब्रिक्सको आउटरिच सम्मेलनमा पनि हामीले यही विषयलाई ‘स्टिकल्ली’ धारणा राखेका छौँ, यसमा गर्व गर्नुपर्छ ।’
सार्क सम्मेलन छिट्टै
छिटोभन्दा छिटो सार्क सम्मेलन गराउनुपर्छ र त्यसका लागि वातावरण बनाउनुपर्छ भन्नेमा सकारात्मक भूमिका खेलेका छौँ । सार्क सम्मेलन वातावरण निर्माण गरेर छिट्टै हुन्छ ।
विमस्टेक शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव
मैले आगामी वर्ष विमस्टेक स्थापनाको २०औँ वर्षगाँठ पारेर विमस्टेक शिखर सम्मेलन नेपालमा आयोजना गर्न चाहेकोबारे सदस्य मुलुकहरूलाई जानकारी गराएँ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments:
Post a Comment