Friday, October 7, 2016
- Home
- Unlabelled
- वर्तमान परिस्थितीबारे राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रको परस्पर विरोधी आंकलन
वर्तमान परिस्थितीबारे राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रको परस्पर विरोधी आंकलन
Posted By Unknown
On 9:14 PM
काठमाडौं / विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताएकी छन् । उता पूर्वराजा ज्ञानेन्द्रले भने विगत १० वर्षमा मुलुकका भोगाइको समीक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका छन् । विजयादशमीका अवसरमा जारी वक्तव्यमा वर्तमान तथा पूर्वराष्ट्राध्यक्षले साझा समृद्धि तथा शान्तिको कामना गरे पनि विद्यमान परिस्थितिबारे परस्पर विरोधी आकलन गरेका छन् ।
शक्ति सन्तुलन मूल मन्त्रः पूर्वराजा
पूर्वराजा शाहले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् । ‘नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो ।
हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं,’ विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले भनेका छन्, ‘राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूलमन्त्र हो । नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि हामी सबै एक हौं ।’
शुभकामना सन्देशमार्फत पूर्वराजाले वर्तमान परिवेशप्रति आफ्नो निराशा अभिव्यक्त गर्दै मुलुकको समग्र परिस्थितिको समीक्षा पनि गरेका छन् । नेपालीको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि रहेको उल्लेख गर्दै पूर्वराजाले रोजगारी र सुरक्षित जीवन नागरिकको नैसर्गिक अधिकार रहेको बताएका छन् ।
‘बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनता अन्त्य गरी जनमुखी शासन–प्रशासन प्रारम्भ गरियो त ? विकास निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ? परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थरक्षा गरियो त ? घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ? ’ शुभकामना सन्देशमा पूर्वराजाले प्रश्न गरेका छन् । उनले बितेको दशकमा अपराध र अपराधीकरणलाई निरुत्साही गरियो या जनताका निम्ति केके गरिए त्यसको समीक्षा गर्न विलम्ब भइसकेको बताए ।
बडादसैंको अवसरले हाम्रो रीतिथिति, संस्कृति, धर्म, परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्व सबल पार्ने उनले बताएका छन् । उनले यस अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् । आफ्नो वक्तव्यको अन्त्यमा उनले नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधैं कायम राखी देशका लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।
0 comments:
Post a Comment