Friday, September 9, 2016

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नगर्ने प्रतिवद्धता

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ । भदौ ३० गतेदेखि हुने ३ दिनसम्म हुने प्रधानमन्त्री दाहालको भ्रमणमा सरकारले नयाँ विषयलाई प्राथामिकता नदिन यसअघि निष्कर्ष पुग्न नसकेका विषय टुंग्याउने भएको हो ।


भ्रमणको एजेण्डा तय गर्न प्रधानमन्त्रीले मन्त्री र सचिवहरुसँग परामर्श गरेका थिए । परामर्शमा मन्त्रीहरुले आफ्नो मन्त्रालयका तर्फबाट भ्रमणका क्रममा उठाउनु पर्ने विषयबारे जानकारी गराएका छन् । परामर्शपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भ्रमणका क्रममा पुराना सम्झौतालाई कार्यान्वयन गर्न जोड दिने र अन्तिम चरणमा पुगेका सम्झौता पूर्णता दिने जानकारी दिए । भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माण, सहुलियत ऋण सम्झौता, ऊर्जा व्यापारलगायतका विषय अघि बढाउने सरकारको तयारी छ । यस्तै, काठमाडौं निजगढ द्रुत मार्गको विषय छलफलमै रहेकाले कसले र कसरी बनाउने भन्ने बारेमा तत्काल निर्णय नहुने उपप्रधानमन्त्री महराले बताए। संवेदनशील र अन्तराष्ट्रिय चासोको विषय भएकाले द्रुत मार्गबारे सरकारले व्यापक छलफलपछि मात्र निर्णय गर्ने उनले जानकारी दिए । तर, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भने दु्रत मार्ग निर्माणको जिम्मा भारतलाई दिने बताउँदै आएका छन् । मुख्य विपक्षी दल एमालले द्रुत मार्ग बनाउने जिम्मा भारतलाई दिन लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।

0 comments:

Post a Comment