Sunday, November 6, 2016
- Home
- Unlabelled
- ७२ वर्षे वृद्धको अठोट : बाँचुन्जेल बाटो खनिरहन्छु
७२ वर्षे वृद्धको अठोट : बाँचुन्जेल बाटो खनिरहन्छु
Posted By Unknown
On 6:18 PM
काठमाडौं / परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न । ती सबै चुनौतीलाई जितेर एक्लै सडक खन्न पनि तम्सिएका छन् । उनी हुन्, दाङको तुलसीपुर नगरपालिका–१ स्थित परेखोला निवासी ७२ वर्षीय वृद्ध चन्द्रवीर वली ।
शनिबार बिहानै घरमा पुग्दा वृद्ध वली आफ्नै सुरमा काम गरिरहेका थिए । कसैले बोलाउँदा अलमलिएर बात गर्ने समय पनि उनीसँग थिएन । एकोहोरो काममै व्यस्त देखिन्थे । हामीले नजिकै गएर आवाज दियौं, यसो हेर्दै फेरि काममै लागे । सामुन्नेमै पुगेर पहिला भेटघाट भएको सम्झाएपछि भने उनले ‘ए बाबु पो आउनुभाको’ भन्दै आफ्नो काममा ब्रेक लगाए । उनको शैली हेर्दा लाग्थ्यो, कामविना उनी बस्नै सक्दैनन् । सायद उनको त्यही शैलीको परिणाम थियो, एक वर्षमा एक्लै खनेको दुई किलोमिटर बाटो ।
सातजना परिवारका सदस्यमा एक मात्र आँखा देख्ने वलीले परिवारका सदस्यकै पीडा मेट्न दुई वर्षदेखि एक्लै गाउँको बाटो खनिरहेका छन् । उनको एक्लो मिहिनेतको फल गाउँले पाएको पनि छ, उनी एक्लैले दुई किलोमिटर बाटो गाडी गुड्नयोग्य बनाइछाडेका छन् । वृद्ध वलीको यो साहसिलो कथा प्रकाशित भएपछि सहयोगी मनहरूले वलीलाई पछ्याउन थालेका छन् । उनको साहसको कथाले मन छोएका लन्डन बस्दै आएका कृष्णप्रसाद शर्माले राप्रपा नेपालका केन्द्रीय सदस्य अञ्जना शाह रावलमार्फत उपलब्ध गराएको ३० हजार रुपैयाँ उपलब्ध गराउन वलीको आँगनमा पुग्दा उनमा बेग्लै जोस देखियो । सामान्य अभिवादनपछि रकम हस्तान्तरण गरेलगत्तै उनी एकाएक हौसिए ।
अनि अठोट गरे, प्राण रहँदासम्म बाटो खनिरहने । ‘मरेको भोलिपल्टको कुरा नगरम, नत्र बाँचुन्जेल बाटो खनिरहन्छु,’ पैसा गन्दै वलीले राजधानीसँग भने, ‘गरे सकिन्छ, म नमर्दासम्म यहाँसम्म जसरी भए पनि जिप त ल्याउँछु–ल्याउँछु ।’ उनले खनेको बाटो हुँदै अहिले उनको आँगनसम्म मोटरसाइकल पुग्ने भएको छ । दृष्टिविहीन श्रीमती र सन्तानका कारण खाना पकाउने, पानी ल्याउने, जुठा भाँडा सफा गर्ने, वस्तुभाउ चराउनेदेखि घाँसपातसम्मका सबै काम उनी एक्लै गर्दै आएका छन् । त्यसबाट पनि समय बचाएर उनले बाटो खन्दै आएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

0 comments:
Post a Comment